विद्युतीय गाडी पनि भन्सार जाँचपासका लागि चाेभार सुक्खा बन्दरगाह आउन थाले

विद्युतीय गाडी पनि भन्सार जाँचपासका लागि चोभार सुक्खा बन्दरगाह आउन थालेका छन् ।

२०७८ चैत २२ गतेदेखि सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहमा शुरुमा कन्टेनरमा आधारित कार्गो मात्र आउने गरेकोमा गएको असार १४ गतेदेखि भन्सार जाँच पासका लागि नयाँ गाडीहरू समेत आउन थालेका थिए । अहिलेसम्म पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँचपास आइसकेका छन् ।

त्यसैगरी आयातकर्ताहरूले गएको शनिवारदेखि विद्युतीय गाडीहरू समेत भन्सार जाँचपासका लागि चोभार ल्याउन थालेका छन् । चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास प्रक्रिया व्यवस्थित भएपछि गाडी चोभार आउन थालेका हुन् ।

चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कन्टेनरमा मालवस्तु एवम् नयाँ गाडीहरू भन्सार जाँचपासका लागि ल्याउन आयातकर्ताहरूसँग छलफल भइरहेकाे नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभएको छ ।

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि आउने मालवाहक गाडी एवम् नयाँ गाडीहरूका लागि प्रवेश शुल्क निःशुल्क गर्नुका साथै पार्किङ एवम् गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले सेवा प्रदान गरिरहेको छ ।

अहिलेसम्म चोभार सुक्खा बन्दरगाहमा दुई सय दुई वटा कन्टेनर र ८७ वटा नयाँ गाडी भन्सार जाँचपासका लागि आइसकेका छन् ।

समाज