हेटौँडा र बुटवलका १३ जना दोस्रोपटक मेची–महाकाली साइकल यात्रामा

हेटौँडा/ हेटौँडा र बुटवलका साइकलप्रेमी १३ जना मेची–महाकाली साइकल यात्रामा निस्किएका छन् । मेची–महाकाली यात्रा तय गरिसकेको समूह आइतबार साँझ सिरहाको लहान आइपुगेको छ ।

यात्रा टोलीमा ११ जना हेटौँडाका र २ जना बुटवलका साइकलयात्रीहरू छन । झापाको काकडभिट्टाबाट सुरु यात्रा करिब १० दिनमा महाकाली पुगेर समापन गरिने लक्ष्य रहेको यात्री भानुभक्त आचार्यले जानकारी दिए । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर साइकल यात्रामा निस्किएको आचार्यले बताए ।

मकवानपुरको हिमालयन राइडर्स सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता  छ । सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको बताए । पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको उनको भनाइ छ ।

यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीय स्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताए । उनीहरूले मकवानपुर र बुटवलको पर्यटकीय क्षेत्रहरूको प्रर्वद्धन गर्नेछन् ।

साइकलयात्रामा सहभागी सदस्यमध्ये लक्ष्मीचरण श्रेष्ठ र भानुभक्त आचार्य दोस्रोपटक मेची–महाकाली साइकल यात्रा गर्दैछन् । आचार्य साइकलयात्रामा सहभागीमध्ये जेष्ठ सदस्य हुन् । आगामी दिनमा निर्माण गरिने सार्वजनिक यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ, अपाङमैत्री लेन समाबेश गर्न पनि सोसाइटीले आग्रह गरेको छ ।

२०५४ माघ महिनामा सामान्य साइकलमा हेटौँडाका ११ जनाले मेचीमहाकाली यात्रा गरेका थिए । भिजिट नेपाल ९८ को अवसरमा हेटौँडाको सहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि व्यक्तिगत खर्चमा उनीहरूले साइकलयात्रा गरेका हुन् । ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौँडासम्म साइकलयात्रा गरी बीचैमा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची–काली साइकलयात्रा पूरा गरेका थिए ।

टोलीमा लक्ष्मीचरण श्रेष्ठ, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल), विकास बानियाँ, सीता श्रेष्ठ रहेका छन् ।

२५ वर्षअघिको पूर्व पश्चिम राजमार्गको अवस्था र वर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियर सहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने उनीहरूले बताए ।

खेलकुद