गैँडा मार्ने मकवानपुरका ५ जनासहित ८ जना पक्राउ

हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरका ५ जनासहित ८ जना रहेका छन् ।

गैंडा मारेको आरोपमा पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ लेबर्टका ३३ वर्षीय रमेश खाँती थिङ, मनहरी गाउँपालिका-६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ (थिङ बाजे), राक्सिराङ गाउँपालिका-९ घर भई हाल हेटौंडा-४ मा बस्ने ४४ वर्षीय समशेर थिङ र चितवनको राप्ती नगरपालिका-११ का ४२ वर्षीय पासाङ भनिने आइतसिंह मोक्तान छन्।
पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार पक्राउ पर्नेहरुमा मुख्य योजनाकार ३३ वर्षका रमेश खाती र थिङ बाजे भन्ने ५६ वर्षका सीताराम थिङ हुन् ।

हेटौंडा उपमहानगरपालिका- ३ लेबर्ट घर भएका खातीलाई प्रहरीले मंसिर ९ गते चितवनको राप्ती- ६ बाट पक्राउ गरिएको थियो । खातीलाई यसअघि एक पटक गैंडा शिकारकै अभियोगमा सोधपुछको लागि निकुञ्ज लगिए पनि अपराधमा संलग्न भएको प्रमाण नभएकोले अभियोजन प्रक्रिया अघि नबढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
सोही मितिमा गैंडा शिकार अभियोगमा ४२ वर्षका पासाङ भन्ने आइतसिंह मोक्तान पक्राउ परेका छन् । राप्ती- ११ थाकलटार घर भएका मोक्तान पनि राप्ती- ६ बाटै पक्राउ परेका थिए ।

खाग बिक्री वितरणमा सहयोग गरेको अभियोगमा ४४ वर्षका शमशेर थिङ पक्राउ परेका छन् । मकवानपुर- ९ घर भइ हेटौंडा- ४ बस्दै आएका थिङलाई पनि राप्ती- ६ बाटै पक्राउ गरिएको हो । राप्ती ६ क्षेत्रबाट नै गैंडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार थिङ बाजे पक्राउ परेका छन् । उनी मकवानपुरको मनहरी- ६ नयाँ बस्तीका हुन् ।

हेटौंडा- ५ का २८ वर्षका अर्जुन रोका राप्ती- ६ बाटै पक्राउ परेको प्रमुख संरक्षण अधिकृत पुनले बताए । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका- ११ का घले भन्ने ७७ वर्षका धनबहादुर गुरुङ पनि छन् । रोका र गुरुङ दुबै खाग बिक्री वितरण गर्ने अभियोगमा पक्राउ परेका हुन् ।

राप्ती- ११ बस्ने ४० वर्षका उनबहादुर स्याङतानलाई राप्ती- ५ बाट पक्राउ गरिएको थियो । उनी गैंडा शिकारी अभियोगमा पक्राउ परेका हुन् । गैंडा शिकारी अभियोगमै मनहरी- ७ ज्यामिरे घर भइ माडी- ९ बाँदरझुला बस्ने ५६ वर्षका इन्द्र भन्ने स्याङ्बो तामाङ छन् । उनलाई राप्ती- ५ बाट मंसिर ११ गते पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत चितवनबाट म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

समाज स्थानीय