कटुञ्जे-फोक्सिङटार-हेटौंडा सडक शिलान्यास

हेटौंडा । जिल्लाको रोशी गाउँपालिकाको कटुञ्जे(फोक्सिङटार हुँदै वाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने सडकको शिलान्यास गरिएको छ ।

वाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी उर्जा तथा सिँचाईमन्त्री तीर्थ लामा, पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य रत्न ढकालले शनिबार एक समारोहबीच उक्त सडक संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

बीपी राजमार्गको कटुञ्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुंगा हुँदै हेटौंडा जोड्ने प्रादेशिक सडकअर्न्तगतको १५ किलोमिटर कालोपत्र र स्तरोन्नति हुनेछ । उक्त सडक निर्माणका लागि सिद्ध बाबा–ग्रीन तारा जेभीसँग यही मंसिर २५ गते ५१ करोड ४४ लाख रुपैयाँ ठेक्का सम्झौता भएको हो ।

वाग्मती सरकारबाट विनियोजित बजेटमा बन्न लागेको यो सडक निर्माण सम्झौता ३ वर्षको रहेको पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख डिभिजनल इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार सम्झौताअनुसार मंसिर २९ गतेबाट निर्माण कार्य अघि बढेको छ ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले सडक स्तरोन्नतिको कार्यलाई तीव्रगतिमा अघि बढाउन निर्माण व्यवसायलाई अनुरोध गरे । कटुञ्जे(फोक्सिङटार(हेटौंडा सडक निर्माणमा बजेट अभाव नहुने विश्वास दिलाउँदै मन्त्री लामाले गुणस्तर निगरानी र अनुगमन गर्ने जिम्मेवारी प्रदेश, स्थानीय तहका जनप्रतिनिधिको मात्र नभई जनसमुदायको पनि रहेको बताए ।

सिँचाईमन्त्री तीर्थ लामाले २०६४र०६५ बाटै उक्त सडक विस्तार गर्न सुरु गरेको स्मरण गर्दै भने, ‘१०–१२ वर्ष अघि चन्दा उठाएर सुरु गरिएको सडक निर्माण गर्ने सपना साकार भएको छ ।’ उनले काभ्रे क्षेत्र नम्बर १ भौगोलिक रुपमा विकट रहेको र यहाँका विकासका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिन भौतिक पूर्वाधारमन्त्रीलाई अनुरोध गरे ।

भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले शनिबार शिलान्यास भएको प्रदेशकै ठूलो बजेटको योजना भएको बताए । उनले भौगोलिक विकट र धेरै जनसंख्याका आधारमा वाग्मती प्रदेशका जिल्लामध्ये काभ्रेमा धेरै बजेट विनियोजन भएको पनि उल्लेख गरे ।

प्रदेशसभा सदस्य रत्न ढकालले काभ्रे १ का रोशी, महाभारत, खानीखोला, चौरीदेउरालीलगायत क्षेत्रमा विकासका कार्यहरु अघि बढाइने बताए । उनले प्रचारमाभन्दा पनि गुणस्तरीय विकास निर्माणमा विशेष जोड दिन आग्रह गरे ।महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संघीयताका कारण तल्लो तहसम्म बजेट गएकाले यसलाई संस्थागत गरिनुपर्नेमा जोड दिए ।

तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उक्त सडकले तेमाल गाउँपालिकावासीसमेत लाभान्वित हुने भन्दै जिल्लाकै गौरवको विषय भएको बताए । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले सडक निर्माणले गाउँपालिकाको एउटा महत्त्वपूर्ण सपना पूरा हुने बताए ।

समाचार