मान्छे मार्ने गृहमन्त्री तत्काल राजीनामा देऊ : सांसद राई

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद राईले गृहमन्त्रीले राजीनामा दिएर आयोगलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताएका हुन्।

उनले सरकारले युवाहरुमा देखिएको असन्तुष्टिलाई छलफल गरी समाधान गर्नुपर्ने ठाउँमा गोली हानेर मार्नेकुरा सह्य नहुने चेतावनी दिए। उनले समस्या सिर्जना भइसकेपछि गम्भीर रुपमा लिएर समाधान गर्न जानुपर्छ कि गोली हान्नुपर्छ? भन्दै प्रश्न गरे।

उनले गृहमन्त्री श्रेष्ठले राजीनामा नगरेसम्म आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने जिकिर गरे।

उनले भने, ‘मेरो एउटा प्रश्न सुरक्षा प्रमुखलाई छ। एकदम तोडमोड गरेर यहाँ कुरा राख्न मिल्दैन। किनभने मैले मेरो आँखाले देखेको छु। किनभने जब समस्या सिर्जना भइसकेपछि सरकारले त्यसलाई गम्भीर रुपमा लिएर समाधान गर्न जानुपर्छ की गोली हान्नुपर्छ? ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ? किन यस्तो हुन्छ? तपाईले मुलुक चलाउन सक्नुभएन गृहमन्त्रीज्यू। चारैतिर असन्तुष्टि छ। यसरी मान्छे मार्न पाइँदैन, तपाई तत्काल राजीनामा दिनुस्।’

सांसद राईले सरकारले सानालाई नभई ठूलालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

राजनीति समाचार