मकवानपुरका वन अधिकृत कोइरालाको एक करोड पच्चीस लाख रुपैयाँ अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर

हेटौंडा । मकवानपुरको डिभिजन वन कार्यालय, राप्ती मनहरीका तत्कालिन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको हो ।

२०४६ साल जेठदेखि सार्वजनिक पदमा पुगेका उनले यो अवधिमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दावी छ । अख्तियारले सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती गीता पौडेल कोइरालाबिरुद्ध पनि मुद्दा दायर गरेको छ ।

आयोगले उनको सम्पत्ति विवरणको विश्लेषण गर्दा पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जीवन बिमा परिपक्व भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र निजको छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार नौ सय ९५६ रुपैयाँ ३१ पैसा कमाएको देखिन्छ ।

सोही अवधिमा उनको व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैङ्क मौज्दातसमेत गरी जम्मा दुई करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैंया  ८५ पैसा खर्च तथा लगानी भएको आयोगको अनुसन्धानले देखाएको छ ।

वैध आम्दानीको अनुपातमा उनले सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी दुई करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैयाँ ८५ पैसा देखिएपछि आयभन्दा बढी रकमको स्रोत नखुलेको आयोगको अनुसन्धानले देखाएको छ । सम्पत्ति स्रोत नखुलेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको र सार्वजनिक पद धारण गरेका कोइरालाले साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(१) बमोजिम गैर कानुनी रूपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको भन्दै आयोगले उनी विरुद्ध एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रूपैँया पचपन्न पैसा बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी गरेको छ ।

त्यस्तै आयोगले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढिबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्ति समेतबाट साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो जफत/असुल उपरको मागदावी गरेको आयोगका सह प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोइरालासमेतको नाममा जग्गा खरिद, निजको नाममा दर्ता कायम रहेको जग्गामा घर निर्माण तथा बैङ्क खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्न मागदावी लिएको छ ।

समाचार