नेपाल एअरलाइन्सको जहाज बिग्रिएपछि दोहा जाने २ सय ७६ जना काठमाण्डौमै रोकिए

नेपाल एअरलाइन्सको वाइडबडी जहाज प्राविधिक समस्या आएका कारण ‘ग्राउन्डेड’ भएको छ ।

जहाज ‘ग्राउन्डेड’ भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका २ सय ७६ जना यात्रु अलपत्र परेका छन् । उनीहरूलाई हिजोदेखि निगमले होटलमा राखेको छ ।

वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’ मा समस्या आएपछि उडान रोक्नु परेको हो । रोकिएका यात्रुलाई आज बेलुका पौने ८ बजे वैकल्पिक उडानमार्फत दोहा पठाउने उहाँले जानकारी दिनुभयो ।

निगमले अन्तर्राष्ट्रिय उडानका ४ वटा जहाजमध्ये एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ ।

समाचार समाज