प्रहरी समायोजनको काम १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजनको काम १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् ।
बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले समायोजनको काम १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका हुन् ।
उनले संघीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो त्यसो हुन सकेको छैन र त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको बताएका थिए । यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएको र अर्कोतर्फ यसैलाई बहाना बनाएर संघीयता विरोधीहरूले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ अनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउन प्रधानमन्त्रीको निर्देशन दिए ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर र गृह मन्त्रालयका अन्य प्रतिनिधिहरू सहभागी थिए ।

 

राजनीति समाचार