पूर्व राजा ज्ञानेन्द्रलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने

आइतबार मकवानपुरको हेटौंडा आउन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने भएको छ ।

हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका शाहलाई  स्वागत गर्ने भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टी जिल्ला समितिको शुक्रबार बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट भएको उनले बताए । उनले भने, ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ, हामी तयारीमा जुटिसकेका छौं ।’

उनका अनुसार, पूर्व राजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने कार्यतालिका रहेको छ ।

त्यसपश्चात पूर्व राजा शाहले हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरको अवलोन गर्ने कार्यसूची रहेको छ ।

कार्यक्रम मकवानपुर–१ का प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजकत्वमा हुने भएको हो । कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मूल समारोह समिती पनि निर्माण गरिएको अध्यक्ष सापकोटाले बताए ।

राजनीति समाचार समाज