भीमफेदी गाउँपालिकाले शुरु गर्‍यो अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजना

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ ।

स्याङ्जाको फेदिखोला गाउँपालिकापछि देशभरि नै दोस्रो गाउँपालिकाको रूपमा भीमफेदीले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो । भीमफेदीमा आयोजना भएको कार्यक्रममा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका थिए । योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पन्जिकृत ९८ जना सहभागी रहेका छन् ।

सामाजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको मजदुरको न्यूनतम बेतन १० हजार ८ सय २० तोकेको छ । त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले ९.३७ प्रतिशत जम्मा गर्नेछ ।

सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैयाँको मालिक रूपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिनेछ । यो कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बीमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भई अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।

सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने स्याङ्जाको फेदिखोला गाउँपालिका पहिलो रहेको थियो । सो गाउँपालिकाले मंसिरबाट श्रमिकको पैसा जम्मा गर्न थालेको थियो ।

भिमफेदी गाउँपालिकाले यो योजनालाई सफल बनाउन चालू आर्थिक वर्षमा १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताएका थिए।

समाचार