मकवानपुरबाट लागूऔषध र सालकको खपटासहित तीन जना पक्राउ

मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ९ टिपटारबाट प्रहरीले शुक्रबार राति अवैध लागूऔषध चरेस र सालकको खपटासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले करिब १० किलो चरेस र १ किलो तौलको सालकको खपटासहित ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका–७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिप कुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबिता गोले पाख्रिन रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चित्लाङ र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाचार समाज