मकवानपुरको बागमतीले पशुपालनमा बिउपुँजी अन्तरगत ३ करोड लगानी गर्दै,दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान

१८फागुन,मकवानपुर- पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले दुध उत्पादनमा वृद्धि गर्ने उदेश्यले पशुपालनमा बिउपुँजी अन्तरगत यो वर्ष ३ करोड लगानी गर्न लागेको छ ।

प्रदेश सरकारको २ करोड र पालिकाको १ करोड गरि जम्मा ३ करोड बिउ पुँजीको रुपमा लगानी गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताउनु भएको छ । दुग्ध उत्पादनमा वृद्धि गर्ने उदेश्यले सो कार्य गर्न लागिएको उहाँले बताउनुभयो । पालिकाले गएका वर्ष देखि नै दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान दिंदै आएको र त्यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता गरिने उहाँको भनाई रहेको छ ।

बागमती गाउँपालिकामा अहिले दैनिक ४ हजार लिटर दुध संकलन भइरहेको र आगामी ३ वर्षमा दैनिक ५० हजार लि. दुध उत्पादन गराउने उदेश्य सहित किसानलाई बिउ पुँजीका रुपमा लगानी गर्न लागिएको अध्यक्ष घलानले बताउनुभयो । अनुत्पादक हुने अवस्थामा गाई भन्दा भैसीको बिक्री ब्यवस्थापनमा सहज हुने हुँदा भैसी नै किन्न प्रेरित गरिने उहाँले बताउनुभयो ।

एक जना किसानको लागि बढीमा १ लाख सम्म बिना ब्याजमा लगानी गरिने , सो रकमबाट किसानले दुधालु पशु (गाई वा भैसी) किन्नुपर्ने र ३ वर्ष पछि किसानले सो साँवा पालिकालाई फिर्ता गर्नुपर्ने गाउँपालिकाका पशु प्राविधिक राजेन्द्र गोलेले बताउनुभयो । र त्यसरी प्राप्त भएको रकम पुनः किसानको लागि सोही तरिकाले लगानी हुनेछ । उहाँका अनुसार किसानले किनेका त्यस्ता पशुको अनिवार्य बिमा गर्नुपर्ने छ । जसको कारण किसानलाई जोखिम कम हुनेछ ।

पशुमा मात्र नभै गाउँपालिकाले दुग्ध चिस्यान केन्द्र , जेनेरेटर , मिल्क एनालाईजर जस्ता उपकरण खरिदका लागि समेत सहकारीहरुलाई अनुदानको ब्यवस्था गर्दै आईरहेको छ । यस अघि ४ वटा संस्थामा त्यस्ता उपकरणहरु रहेको र यस वर्ष पनि थप ५ वटा सहकारीलाई त्यस्ता उपकरण वितरण गर्न लागेको पालिकाले जनाएको छ । बागमती गाउँपालिका जमिन र पानीका कारण पनि पशुपालनको लागि उपयुक्त भएकाले गाउँपालिकाले लगानी गर्न लागेको बताइएको छ ।यसैबीच गाउँपालिकाको पशुपंछी विकास शाखाले आयोजना गरेको सहकारी ब्यवस्थापन तालिमको समापन भएको छ । ४ दिनसम्म संचालन भएको तालिमको शुक्रबार समापन गरिएको छ । गाउँपालिकाका आर्थिक विकास संयोजक एवम् वडा नं ७ का वडा अध्यक्ष उत्तर बहादुर भोलनको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको हो । ३ दिनसम्मको सहकारी ब्यवस्थापन तालिमको सहजीकरण राधेश्याम दुवालले गर्नुभएको थियो भने अन्तिम दिन शुक्रबार मिल्क एनालाईजर संचालन सम्बन्धि तालिमको सहजीकरण गोविन्द प्रसाद तिमल्सिनाले गर्नुभएको तालिमका संयोजक राजेन्द्र गोलेले बताउनु भएको छ । तालिममा दुग्ध सहकारीका अध्यक्ष, सचीव र ब्यवस्थापकहरुको सहभागीता रहेको थियो ।

विज्ञान प्रविधि शिक्षा समाचार