३० जेठ, हेटौंडा- मकवानपुर जिल्लामा रहेका विभिन्न सहकारी संस्थामा कार्यरत ब्यवस्थापकहरुका लागि हेटौंडामा भएको २ दिने क्षमता विकास तालिम बुधबार सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंकको सदस्य सेवा महाशाखा प्रमुख रामबाबु आचार्यको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य ध्रुवराज विष्टको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । कार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथि विष्टले तालिमका क्रममा प्राप्त गरेका ज्ञान र सिपलाई आफ्नो संस्थामा ब्यवहारमा लागु गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा समन्वय उपसमितिका सदस्य हरि प्रसाद पौडेल, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हेम प्रसाद पौडेलले आफ्नो धारणा राख्नुभएको थियो । तालिममा सहभागी मध्ये पुरुष तर्फबाट सानाकिसान कृषि सहकारी संस्थाका ब्यवस्थापक ज्योति सुवेदी, महिला तर्फबाट ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक पुष्पा क्षेत्रीले तालिम निकै नै महत्त्वपूर्ण रहेको बताउनुभयो । समापन कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने लगायतकाको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाको आयोजनामा हेटौंडाको रोयल पाटी प्यालेसमा तालिमको आयोजना गरिएको थियो । एन. सि. बि. एल.सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत तालिम आयोजना गरिएको बैंकका हेटौंडा शाखा प्रमुख रामेश्वर अर्यालले बताउनुभयो ।
सहकारीमा कार्यरत ब्यवस्थापकहरुको क्षमता विकास गरि सक्षम सहकारी र कुशल प्रशासनिक नेतृत्व तयार गर्ने उदेश्यले तालिमको आयोजना गरिएको शाखा प्रमुख अर्यालले बताउनुभयो ।
मकवानपुरका विभिन्न सहकारीका ४० जना ब्यवस्थापकहरुको सहभागिता रहेकोे तालिममा प्रशिक्षक द्वय तेज प्रसाद बजगाई र रामेश्वर अर्यालले प्रशिक्षण दिनु भएको थियो ।