काठमाडौंको बल्खु खोलामा एक जना मृत भेटिए

काठमाडौंको बल्खु खोलामा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् ।

बिहान साढे ७ बजेको समयमा बाँके घर भई हाल सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो मृत अवस्थामा भेटिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनको बल्खु खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उनको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको हो ।

प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको जनाएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न नदीहरुमा बाढी आएको छ । नदीहरुमा बाढी आएसँगै बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रमा पनि बाढी पसेको छ । ती क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।

समाचार समाज स्थानीय