सार्वजनिक लेखा समितिद्वारा विद्युत प्राधिकरणसँग टीओडी मिटरको तथ्याङ्क माग

सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्याङ्क मागेको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजोको बैठकले प्राधिकरणसँग टीओडी मिटरको तथ्याङ्क माग्ने निर्णय गरेको हो ।

समितिका सभापति ऋषिकेश पोखरेलले टीओडी मिटरको प्रष्टता के हो प्राधिकरणसँग माग गरिएको बताउनुभयो । उहाँले सबै तथ्य, प्रमाण र कानूनका आधारमा सचिवालयलाई पाँच दिनभित्र प्रतिवेदन तयार गर्न निर्देशन दिनुभयो । समितिसँग भएका तथ्य, प्रमाण र कानूनका आधारमा पाँच दिनमा प्रतिवेदन तयार पारी अर्को बैठकमा उद्योगी र प्राधिकरणबीच विवाद सुल्झाउने गरी निर्णय गरिने बताउनुभयो ।

बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाउनुभएको छ ।

प्राधिकरण एक्लैले बिल जारी नगरेको भन्दै विद्युत महशुल निर्धारण आयोगले गरेको निर्णय र बोर्डले गरेको निर्णयको आधारमा बिल जारी गरिएको उहाँको भनाइ छ । तर उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंकलाइन वक्यौता रकमको प्रमाण बिना विद्युत प्राधिकरणले दुःख दिने काम गरेको गुनासो गरेका छन् ।

उनीहरुले प्राधिकरणले उद्योगहरुले विद्युत प्रयोग गरेको टीओडी मिटरसहितको प्रमाण दिए रकम तिर्न तयार रहेको बताएका छन् । सार्वजनिक लेखा समितिको हिजोको बैठकमा उद्योगी र विद्युत प्राधिकरणसँगको छलफलपछि बसेको बैठकमा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच सवालजवाफ समेत भएको थियो ।

 

अर्थ राजनीति समाचार समाज