जुम्ला, उदयपुर, सिन्धुलीका नदी तथा खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जुम्लाको तिला नदी, चौदबिसे खोला, उदयपुरको कमलालगायतका नदी तथा खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो एक घण्टामा जुम्लाको डाँफे लेक वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा ठूलाे पानी परिरहेकाे र थप पानी पर्नसक्ने सम्भावना रहेकोले ती क्षेत्र भएर बहने तिला नदी, चौदबिसे खोला र अन्य साना नदीहरूमा जलसतह केही बढ्न सक्ने महाशाखाकाे अनुमान छ । साथै कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

यस्तै पछिल्लो एक घण्टामा उदयपुरको कटारी, सिन्धुलीको दुधौली र आसपासको क्षेत्रमा सामान्यदेखि मध्यम पानी परेको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा ती क्षेत्र भएर बहने कमला नदी, तावा खोला र अन्य साना नदीमा जलसतह केही बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भागमा बस्नेहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अहिले काठमाण्डौ उपत्यकामा पनि हल्का पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पानी परिरहेको र बादल लागेको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

समाचार स्थानीय