न्यूनचापीय प्रणालीको प्रभाव: मध्य र पश्चिम नेपालमा उच्च वर्षा

मनसुनी वर्षा जारी: देशभर मध्यमदेखि भारी वर्षा

शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। केहीबेर रोकिने र फेरि पर्ने अहिलेको वर्षाको प्रकृति छ। आइतबारदेखि मधेस प्रदेशदेखि लुम्बिनी प्रदेशसम्मका भू-भागहरुमा मध्यमदेखि भारी र धेरै भारी वर्षा भएको छ।

पछिल्लो १२ घन्टामा देशका विभिन्न स्थानहरूमा उल्लेख्य मात्रामा वर्षा मापन गरिएको छ। मकवानपुरको हात्तीसुडेमा १४० मिलिमिटर, चितवनको कल्याणपुरमा १६६ मिलिमिटर, देवघाटमा १०८ मिलिमिटर जस्ता उच्च मात्राका वर्षा मापन भएका छन्। काठमाडौंमा पनि विभिन्न स्थानहरूमा ३० देखि ४३ मिलिमिटरसम्म वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो बागमती, लुम्बिनी र गण्डकीमा तथा राति कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार, भारतको ओडिशा र आन्ध्र प्रदेशबाट विकसित भएको सशक्त न्यूनचापीय क्षेत्रले गर्दा यस्तो वर्षा भइरहेको हो।

मौसमविद् अर्यालले मनसुनको समय भएकाले पानी पर्ने र रोकिने क्रम जारी रहने बताए। उनका अनुसार, सेप्टेम्बरबाट बिस्तारै वर्षाको मात्रा कम हुँदै जाने भए पनि असोजसम्म पानी पर्ने सम्भावना रहन्छ। सामान्यतया मनसुन अक्टोबर २ मा बाहिरिने मान्यता रहेको छ।

समाचार समाज स्थानीय