हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, पिपलबोटस्थित सडकबाट प्रहरीले शनिबार बिहान लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इलाम घर भएका ३५ वर्षीय दिपेश श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका–६ बस्ने २४ वर्षीय लालबाबु पासवान रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रित लागूऔषध फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नुर्फिन २ सय एम्पुलसहित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पथलैयाबाट नारायणगढतर्फ जाँदै गरेको बा.५४ प ६५९८ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गरेको थियो । सो क्रममा स्कुटरमा सवार उनीहरूको साथबाट सो परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

समाचार समाज