आज सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशको सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार, पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको छ । त्यसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

समाचार समाज