मकवानपुरमा विभिन्न मुद्दामा फरार सात जना पक्राउ

मकवानपुर प्रहरीले आइतबार विभिन्न मुद्दामा फरार सात जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध, बैकिङ कसुर, अपराधि विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी, ज्यान सम्बन्धी कसुरलगायतको मुद्दामा फरार रहेका सात जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार, लागूऔषध गाँजा र चरेश मुद्दामा फरार मनहरी गाउँपालिका वडा नम्वर ८ बस्ने वर्ष ४४ को हरिबहादुर नेपाली, वर्ष ४५ की मिरा गिरी र राक्सिराङ गाउँपालिका वडा नम्वर ५ बस्ने वर्ष ३८ को रामबहादुर प्रजालाई पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरले विभिन्न मितिमा क्रमशः नेपालीलाई ४ महिना १७ दिन, गिरीलाई ५ महिना र प्रजालाई एक लाख रुपैयाँ जरिवानासहित ६ महिना कैद सजाय तोकेको थियो ।

यस्तै, प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ४३ की ललिता उप्रेतीलाई बैंकिङ् कसुरमा, हेटौंडा–१२ बस्ने वर्ष ५६ को कुमार स्याङ्तानलाई अपराधि विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी मुद्दामा, हेटौंडा–८ बस्ने वर्ष ५० को रामकुमार उपाध्यायलाई ज्यान सम्बन्धी कसुरमा र हेटौंडा–५ बस्ने वर्ष ४२ को नवराज भनिने छविलाल पुडासैनीलाई चेक अनादर मुद्दामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

जिल्ला अदालत मकवानपुरले विभिन्न मुद्दामा क्रमशः उप्रतीलाई १० वर्ष कैद, स्याङ्तानलाई ५ दिन कैद र एक हजार रुपैयाँ जरिवाना, उपाध्यायलाई ७ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना र पुडासैनीलाई एक हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

पक्राउ परेका उनीलाई आवश्यक अनुसन्धान तथा कारबार्हीको लागि आइतबार नै जिल्ला अदालत मकवानपुरमा बुझाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

समाचार समाज