सरकारले खाद्यमा तेलको सीमा तोक्यो

खाद्यपदार्थमा रहने औद्योगिक ट्रान्स फ्याट (असन्तुलित अन्य तेल) को अधिकतम सीमा तोकिइएको छ । सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी तेलको सीमा निर्धारण गरेको हो ।

सरकारले खाद्यपदार्थमा ट्रान्स फ्याटको मात्रा खाद्यपदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा बढी नहुने गरी सीमा निर्धारण गरेको हो ।

यसबाह्ेक सरकारले खाद्यपदार्थको लेबलमा खाद्य नियमावली २०२७ अनुसार विवरण उल्लेख गर्न राजपत्रमार्फत् व्यवस्था गरेको छ । लेबलमा अनिवार्य रूपमा ट्रान्स फ्याटको मात्रासमेत उल्लेख गर्न व्यवस्था छ ।

उत्पादनको लेबलमा ट्रान्स फ्याटरहित (ट्रान्स फ्याट फ्री) भनी दाबी गरिएको हकमा उक्त खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा ० दशमलव २ ग्रामप्रति एक सय ग्राम चिल्लो पदार्थको तौलभन्दा बढी नभएको हुनुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्था सूचना राजपत्रमा प्रकाशित भएको १८१ औँ दिनदेखि कार्यान्वनयमा आउने राजपत्रमा उल्लेख छ ।

साथै खाद्यपदार्थमा रहेको चिल्लो पदार्थ ट्रान्स फ्याटको मात्रा तोकेभन्दा बढी भएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही हुने खाद्य प्रविधिक तथा नियन्त्रण विभागले जनाएको छ ।

समाचार समाज