मकवानपुर ट्राफिकले शुरु गर्यो ‘शुभयात्रा अभियान’

हेटौंडा। चितवनबाट सुरुवात  गरिएको शुभयात्रा अभियान मकवानपुर ट्राफिक प्रहरीले पनि शुरू गरेको छ। जिल्लामा हुने दुर्घटनामा मोटरसाइकलको संलग्नता बढी हुने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो अभियान थालिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिएका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको  ‘शुभयात्रा अभियान’ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पनि आइतबार सुरु गरेको हो। यस अभियानमा मकवानपुरका ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई यात्राको शुभकामना दिँदै सुरक्षित यात्राका लागि सचेत गराउँछन् । “शुभयात्रा मात्र नभनी नमस्कार, आरामै चलाउनुहोस्, पछिल्लो समय मोटरसाइकल दुर्घटना बढेकाले तपाईंहरूको विवरण राख्दै सुरक्षित यात्राको कामना गर्दछौ भन्दै ट्राफिक प्रहरीले चालकलाई सचेत गराउने बताए।  “यस अभियानमा दुई पाङ्ग्रे सवारी चालकलाई  हेलमेट लगाउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र जीवनको महत्व बुझ्न पनि ट्राफिक प्रहरीले चालकलाई सम्झाउने छ” – अधिकारीले भने।

समाचार