हेटौंडा–१ नम्बर वडा बालमैत्री घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार १ नम्बर वडामा रहेको नकौली आधारभूत स्वास्थ्य केन्द्र बाँझोडाँडाको परिसरमा एक कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री घोषणा गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले १ नम्बर बालमैत्री वडा भएको घोषणा गरेकी हुन् । सो क्रममा बोल्दै मेयर लामाले बालमैत्री घोषणालाई दिगो रुपमा सार्थकता दिने गरी काम गर्न अनुरोध गरिन् ।

हेटौंडा उपमहानगर १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर राजेश बानियाँ, ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल, ७ नम्बर अध्यक्ष दामोदर गौतम, ८ नम्बर वडा अध्यक्ष राम थापा, १६ नम्बर अध्यक्ष रामकृष्ण कोइराला, १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी नवराज लगायतको आतिथ्यता थियो ।

वडाध्यक्ष न्यौपानेका अनुसार, बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४७ वटामा सत्प्रतिशत र बाँकी ४ वटा सूचकमा क्रमशः ८२ देखि ९६ प्रतिशतसम्म नतिजा हाँसिल पश्चात घोषणा गरिएको हो ।

१४ दशमलव ८६ वर्ग किलोमिटर रहेको यस वडामा घरधुरी तथ्यांक सर्वेक्षण अनुसार ६ हजार ७९० जनसंख्या रहेको छ । यस वडामा १८ वर्ष मुनीका बालबालिकाको संख्या २०१४ रहेका छन् ।

५ वटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेको १ नम्बर वडामा १८ वटा बाल समूह र एउटा बाल सञ्जाल सक्रिय रहेको उनले बताए । नेपाल सरकारले २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।

सोही लक्ष्यलाई पछ्याउँदै हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री बनाउने अभियान अन्तर्गत धमाधम वडाहरु बालमैत्री घोषणा गरिएको छ । अब हेटौंडाको ३ वटा वडा मात्र बालमैत्री घोषणा हुन बाँकी रहेको छ ।

पछिल्लो समय हेटौंडा उपमहानगरपालिकाको वडालाई बालमैत्री घोषणा गर्ने कार्य तीब्र छ । १९ वटा वडा रहेको हेटौंडामा अब ३ वटा मात्रै वडाले बालमैत्री घोषणा गर्न बाँकी छ । जसमा हेटौंडा–३, १४ र १५ नम्बर वडा रहेका छन् ।

समाचार