फागुन १ मा हेटौँडालाई बालमैत्री घोषणा गर्ने तयारी

हेटौँडा : हेटौँडा उपमहानगरलाई बालमैत्री घोषणा गर्ने तयारी भएको छ। हेटौंडाका वडाहरू धमाधम बालमैत्री घोषणा भएसँगै हेटौंडालाई बालमैत्री घोषणा गर्ने तयारी भएको हो।

१९ वडा रहेको हेटौंडा उपमहानगरमा हालसम्म १७ वटा वडा बालमैत्री घोषणा भइसकेका छन् । १४ र १५ नम्बर वडा बालमैत्री घोषणा हुन बाँकी रहेको हेटौँडा उपमहानगरकी महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिइन्।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले तोकेका ५१ वटा सूचक पूरा गर्नुपर्ने लामिछानेले बताइन्।

हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाँले हेटौंडा उपमहानगरलाई २०८१ फागुन १ गते घोषणा गर्ने तयारी रहेको जानकारी दिए।​ उपमेयर बानियाँका अनुसार बालमैत्री घोषणा गर्न हेटौंडा उपमहानगरका वडाहरूमा विभिन्न संंरचना बनाएको बताए।

हेटौँडालाई बालमैत्री बनाउन बालश्रम र बालविवाह चुनौती रहेको छ। सरोकारवालाहरू स्थानीय तहलाई बालमैत्री घोषणा गर्नुभन्दा पनि त्यसलाई निरन्तरता दिनु ठूलो चुनौती रहेको बताउँछन्।

जनआन्दोलनपछि नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ लाई अनुमोदन गरेपछि नेपालमा यो अवधारणाले जन्म लिएको हो।

समाचार