बारामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सिमरा : बारामा शनिबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका- २१ स्थित अमलेखगञ्जमा आइतबार राती पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको बसले प्र.०२–०३–०१३प ३२३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट राजदेवी नगरपालिकाका ३३ वर्षीय भोलाप्रसाद यादवको मृत्यु भएको हो ।

दुर्घटनामा रौतहट गढीमाई नगरपालिका ८ का मोटरसाइकल चालक २५ वर्षीय रणवीरकुमार यादव घाइते भएका छन् । घाइतेलाई उपचारका लागि हेटौंडास्थित अस्पतालमा लगिएको छ । यादवको दुवै खुट्टा भाच्चिएको अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसअघि आइतबार बिहान ट्रकको ठक्करबाट सिमरामा एक युवकको मृत्यु भएको थियो । पथलैया–वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत सिमराको बाबा आयल नजिक ना ६ख २८९५ नम्बरको ट्रकले ना४०प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा जीतपुरसिमरा उपमहानगरपालिका १ का करिब ३० वर्षीय उदितनारायण झाको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै झालाई परवानीपुरस्थित एलएस न्यूरो अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका -२ का १८ वर्षीय उत्पल आचार्य गम्भीर घाइते भएका छन् । आचार्यको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । आचार्यको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

पथलैया–वीरगन्ज व्यापारिकमार्गअन्तर्गत बाबा आयल नजिकको सर्भिस लेनबाट मुख्य लेनमा निस्कने क्रममा ट्रकले मोटरसाइकलाई ठक्कर दिएको थियो। प्रहरीले ट्रकसहित चालक धादिङ गजुरी गाउँपालिका ६ पोखरी खोलाका सन्दीप भुजेललाई नियन्त्रणमा लिएको छ ।

समाचार