बागमती प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिद्वारा धादिङ, नुवाकोट र रसुवामा अनुगमन

हेटौंडा । बागमती प्रदेशसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषि समितिले धादिङ, नुवाकोट र रसुवा जिल्लामा रहेका विभिन्न कार्यालय तथा संरचनाको अनुगमन सम्पन्न गरेको छ। समितिका सभापति ठाकुर प्रसाद ढकालको नेतृत्वमा भएको अनुगमनमा कृषि उपसमिति संयोजक एका लाल श्रेष्ठ र शिक्षा तथा खेलकुद उपसमिति संयोजक रामकुमार पहाडीको संयोजकत्वमा विभिन्न क्षेत्रका कार्यालय तथा संरचनाहरूको अनुगमन गरिएको हो।

अनुगमन टोलीले कृषि कार्यालय, शीत भण्डार, कृषि उद्यम, अस्पताल, जनस्वास्थ्य कार्यालय, खेलकुद विकास समिति, खेलमैदान, कभर्डहल, पालिका कार्यालय, शिक्षा समन्वय इकाई तथा विभिन्न विद्यालयहरूको अनुगमन गर्नुभएको थियो।

अनुगमनका क्रममा जिल्लाहरूमा सञ्चालित योजना, सेवा प्रवाह, भौतिक संरचना, कर्मचारी व्यवस्थापन तथा सेवा उपयोगकर्ताका समस्या र सुझावबारे जानकारी लिनुभएको थियो। संयोजक पहाडीले खेलकुद विकास समितिहरूमा समन्वय अभाव, स्रोत साधनको कमी तथा खेलकुद संरचनाको व्यवस्थापनमा देखिएका चुनौतीका विषयमा चासो व्यक्त गर्नुभएको थियो।

त्यसैगरी, संयोजक श्रेष्ठले कृषि उद्यम, शीत भण्डार तथा कृषि कार्यालयको सेवा प्रवाहबारे जानकारी लिँदै, कृषकलाई आवश्यक अनुदान, प्रविधि र सल्लाहकार सेवाको प्रभावकारिता तथा किसानले भोगिरहेका समस्याबारे चासो व्यक्त गर्नुभएको थियो।

अनुगमनका क्रममा विभिन्न स्थानमा भौतिक संरचनाको अभाव, स्रोत साधनको अभाव, कर्मचारीको अपर्याप्तता लगायतका समस्या उठाइएको थियो। कतिपय स्थानमा विकास निर्माणका योजनाहरू समयमा सम्पन्न नभएको, सेवा प्रवाहमा ढिलासुस्ती र समन्वय अभावका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो स्थानीय प्रतिनिधिहरूले राख्नुभएको थियो।

समितिले अनुगमनका क्रममा देखिएका कमी–कमजोरी, अवसर र चुनौतीका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुझाव तथा प्रतिवेदन तयार गर्ने जनाउनुभएको छ।

अनुगमन टोलीमा समिति सदस्यहरू उत्तम जोशी, शुष्पा भुजेल, हरिप्रसाद सापकोटा, बिन्दु श्रेष्ठ, सकुन्तला श्रेष्ठ, सुरेश श्रेष्ठ, गीता गुरुङ, समिता खड्गी, ईश्वर सापकोटा लगायतको सहभागिता रहेको थियो।

राजनीति समाचार