काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रको मौसम सुधार : भिजिबिलिटी बढ्यो, प्रदूषण घट्यो

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा आकाश खुलेको छ । लगातार दुई दिनसम्म बेलुकी परेको पानीका कारण केही दिनदेखि घुम्म भएको मौसममा आज केही सुधार आएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिभुवन विमानस्थलको भिजिबिलिटीमा पनि सुधार भएको छ ।

भिजिबिलिटी कम हुँदा अस्ति विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको थियो । हिजोसम्म १ हजार पाँच सयसम्म झरेको  विमानस्थलको भिजिबिलिटी अहिले भने सामान्य अवस्थाजस्तै ४ हजार पुगेको छ ।

आज पनि काठमाण्डौ उपत्यकामा बेलुकीपख हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच काठमाण्डौसहित देशका विभिन्न ठाउँमा अस्तिदेखि परेको पानीले प्रदूषण केही घटेको छ ।

वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।

वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअरसूचकमा विश्वकै प्रदुषित शहरमध्ये आज काठमाण्डौ १४ औँ नम्बरमा परेको छ ।

काठमाण्डौ आज आईक्यू एअर सूचकांक एक सय १४ रहेको छ । यसअघि केही दिनदेखि काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये पहिलो, दोस्रो र तेस्रोमै रहँदै आएको थियो ।

समाचार