आन्तरिक बसाइँसराइको चाप बागमती प्रदेशमा बढी

हेटौंडा । बागमती प्रदेशमा आन्तरिक बसाइसराइ गर्नेहरुको सख्या पछील्लो समयमा बढेको छ । अरु प्रदेशको तुलनामा यस प्रदेशमा आन्तरिक बसाइ सराइ गर्नेहरुको सख्या बढेको हो । बिशेषगरी पहाडी क्षेत्रबाट समथल भागमा र शहरी क्षेत्रमा बसाइ सर्नेहरु निकै बढेका छन् ।

५० वर्षमा हिमाली क्षेत्रका बसाइँ सरी जाने संख्या ८ गुणाभन्दा बढी देखाएको छ। २०२८ सालमा ९ हजार ६९८ जनाले हिमाली क्षेत्र छाडेको पाइएको थियो भने २०७८ मा यो संख्या ७५ हजार ५४२ रहेको पाइयो।

२०७८ को जनगणना अनुसार २१ लाख ४२ हजार ३६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँसराइ गरेका छन्।

बसाइँ सरी आउने जनसंख्याको चाप वा आकर्षण सबैभन्दा बढी बागमती प्रदेशमा रहेको पाइएको छ। त्यसमा पनि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला सबैभन्दा अगाडि छन्।

काठमाडौँ उपत्यकामा कुल जनसंख्याको आधाभन्दा बढी बसाइँ सरी आएको छ।

जिल्लागतरुपमा हेर्दा काठमाडौँमा ५७ दशमलव २, भक्तपुर ५० दशलमव २ र ललितपुरमा ४६ दशमलव २ प्रतिशत जनसंख्या बसाइँ सराइबाट आएको छ।

विवाह, कामको अवसर आदिका कारण आन्तरिक बसाइँसराइ बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेलले तथ्यांकले तराई क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न र पूर्वाधार विकासमा सरकारको लगानीका बारेका सोच्न बाध्य बनाएको बताएका छन्।

प्रतिवेदनले कार्ययोजना, नीति बनाउन र समस्या भएका क्षेत्र पहिचान गर्न सहयोग गर्ने उनको भनाइ छ।

यस्तै प्रतिवेदनले आगामी ३० वर्षमा अर्थात् २१०८ सम्ममा नेपालको जनसंख्या ३ करोड ३५ लाख पुग्ने आकलन गरेको छ। जनसंख्या वृद्धिदर शून्य दशमलव ३९ देखि शून्य दशमलव ६४ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ।

अब आश्रित जनसंख्या बढ्ने, उमेरअनुसार  प्रजननदरमा कमी आउने र बच्चा जन्माउने उमेर ढिलो हुँदै जाने प्रक्षेपण गरिएको छ।

परिणामस्वरुप, विदेशिएकोमध्ये नेपाल फर्किनेको संख्या बढ्ने र पलायन हुने जनसंख्यामा कमी आउन सक्ने प्रतिवेदनमा औँल्याइएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच विषयगत प्रतिवेदन मंगलबार सार्वजनिक गरेको हो। प्रजनन् स्थिति, आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइ, जनसांख्यिक लाभांश र आगामी ३० वर्षको जनसंख्याको प्रक्षेपण गरेको प्रतिवेदन कार्यालयले सार्वजनिक गरेको हो।

समाचार