१० वर्षमा वन्यजन्तु आक्रमणबाट चेपाङ समुदायका १२७ जनाको मृत्यु

दश वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १२७ जना चेपाङ समुदायका व्यक्तिले ज्यान गुमाएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०र७१ यता नेपालमा जंगली जनावरको आक्रमणबाट १२७ जना अतिसीमान्तकृत चेपाङ समुदायका व्यक्तिले ज्यान गुमाएका हुन् ।

प्रत्येक वर्ष ५ देखि १९ जना चेपाङले ज्यान गुमाएको आयोगको तथ्यांकले देखाएको छ । सबैभन्दा कम २०७२र७३ र २०७४र७५ मा ५ जनाले ज्यान गुमाएका थिए भने २०७८र७९ मा १९ जना चेपाङले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाएको आयोगका मानव अधिकार अधिकृत किरण बरामले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७०र७१ मा ९ जना, २०७१र७२ मा ८ जना, २०७२र७३ र २०७४र७५ मा ५ जना, २०७३र७४ मा १३ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७५र७६ मा १२ जना, २०७६र७७ मा ९ जना, २०७७र७८ मा १२ जना, २०७८र७९ मा १९ जना चेपाङ समुदायका व्यक्तिले जनावरको आक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै २०७९र८० मा १५ जना, २०८०र८१ मा ११ जना र चालु आर्थिक वर्षको हालसम्म ९ जनाले ज्यान गुमाएको बरामले जानकारी दिए । ज्यान गुमाउने १२७ चेपाङ समुदायका व्यक्तिमध्ये ३६ महिला र ९१ पुरुष रहेका छन् । उनीहरुमध्ये बाघको आक्रमणबाट ४० जना, हात्तीको आक्रमणबाट २८ जना र गैंडाको आक्रमणबाट ५२ जनाले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । गोही र बँदेलको आक्रमणबाट ३र३ जना र गौरीगाईको आक्रमणबाट एक जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमध्ये माडी क्षेत्रका मात्रै २९ जना रहेको पाइएको छ ।

चेपाङ समुदायको बसोबास वनजंगल नजिकै ऐलानी जग्गामा हुँदै आएकोले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाउनेको संख्यामा बृद्धि भैरहेको आयोगका मानव अधिकार अधिकृत बरामले जानकारी दिए । ‘विकटमा बसोबास गर्न बाध्यहरु जंगल छेवैमा बस्नुपरेको छ । केहीले खानीजन्य उद्योगले पनि बसाइँसराई गराएको छ’, उनले भने, ‘असुरक्षित बसोबसका कारण उनीहरुले ज्यान गुमाउनुपर्ने बाध्यात्मक परिस्थिती रहेको छ ।’ यस्तै कारणले पनि राष्ट्रिय निकुञ्ज र चेपाङ समुदायको द्वन्द्व निरन्तर चल्दै आइरहेको उनले बताए । ऐलानी जग्गामा बस्न बाध्य उनीहरुले जीव जनावरले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको क्षतिपूर्ती समेत नपाउने अवस्था रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । नेपालमा मकवानपुर, चितवन, धादिङ र गोरखा जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । यी जिल्लामा पनि खोला र जंगल छेउमा उनीहरुको बसोबास रहने गरेको पाइएको छ ।

 

समाचार