अत्यधिक गर्मीले हेटौंडाको जनजीवन प्रभावित

हेटौंडामा पछिल्ला दिनहरूमा बढ्दो गर्मीका कारण जनजीवन प्रभावित भएको छ।  केही दिनदेखि गर्मी बढ्ने क्रम जारी रहेकोमा बुधबार मकवानपुर जिल्लाको औसत तापक्रम बढेर ३७ डिग्री सेल्सियस नजिक पुग्दा दैनिक जीवन अस्तव्यस्त भएको छ ।   अत्यधिक रूपमा गर्मी बढ्दा सर्वसाधारणको दैनिक कार्यसमेत प्रभाव भएको छ ।

तीन दिन यता पूर्वी तराईका जिल्लाहरूमा निरन्तर गर्मी बढिरहेको छ । गर्मी बढिरहेको समयमा वर्षा नहुँदा थप जनजीवन कष्टकर  बनिरहेको छ। गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिकहरू, दैनिक ज्यालादारी काम गर्ने मजदूरहरू बढी प्रभावित भएका छन् । त्यस्तै, विद्यालयहरूमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्यामा पनि कमि आएको छ । कतिपय विद्यालयहरूले समय तालिका हेरफेर गरेका छन् भने अभिभावकहरू बालबालिकाको स्वास्थ्यप्रति चिन्तित देखिएका छन् ।

स्थानीय अस्पतालहरूमा गर्मीजन्य समस्याका बिरामीहरूको संख्या बढ्दै गएको छ। अत्यधिक तातोका कारण थकान, डिहाइड्रेसन, चक्कर लाग्ने जस्ता समस्या देखापरेका छन । गर्मीका कारण वृद्धवृद्धा, बालबालिका, र दीर्घरोगीहरू सबैभन्दा बढी जोखिममा रहेका छन् । जलवायु परिवर्तनका कारण हेटौंडा सहित तराई क्षेत्रहरूमा गर्मी वर्षेनि तीव्र रूपमा बढ्दै आएको छ ।

समाचार