कैलाश गाउँपालिकामा ३४ वटा खानेपानी धारा र ट्याङ्कीको संयुक्त अनुगमन

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० को कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण सम्पन्न भएका ३४ वटा खानेपानीका धारा र ट्याङ्कीहरुको संयुक्त अनुगमन गरिएको छ ।

आइतबार सम्पन्न उक्त अनुगमन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा अध्यक्ष सुर्यबहादुर ब्लोन, साझेदार संस्था नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) का साझेदार निर्देशक डा. सुरेश तामाङ, कार्यक्रम व्यवस्थापक निराजन पोखरेल, संयोजक लिलबहादुर कार्की, उपभोक्ता समिति अध्यक्ष संवेश सिन्तान लगायतको टोली सहभागी थियो ।

अनुगमन गरिएको परियोजना वेल्ट हंगर हिल्फे (WHH) को आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थामार्फत सञ्चालित खानेपानी, सरसफाई तथा स्वच्छता प्रणाली सुदृढिकरण तथा व्यवहार परिवर्तन परियोजना अन्तर्गत कार्यान्वयन गरिएको हो।

कार्यक्रम संयोजक कार्कीका अनुसार, गाउँपालिकासँगको सहकार्यमा ३४ वटा धारा, १ वटा बीपीटी, २ वटा आरबिटी, र १ वटा इन्टेक निर्माण गरि खानेपानी घरघरमा पुर्याइएको छ। उपभोक्ता समिति गठन गरी ३ महिनाभित्र सम्पूर्ण खानेपानी तथा सरसफाइसम्बन्धी काम सम्पन्न गरिएको उनले बताए। परियोजनाको कुल लागत ३१ लाख ४२ हजार रुपैयाँ रहेको छ। जसमध्ये आरआरएनको तर्फबाट १९ लाख, गाउँपालिकाबाट ६ लाख, र उपभोक्ताबाट ६ लाख ४२ हजार रुपैयाँ लगानी गरिएको हो ।

समाचार