जन्मको बाटोमा मृत्युसँग भेट: एकै परिवारका तीन पुस्ताको अन्त्य

हेटौंडा । शनिबार बिहानको समय थियो—हेटौंडाको एक परिवारका लागि असाधारण दिन।

२७ वर्षीया रेनुका कँडेल पहाडी आफ्नो दोस्रो सन्तान जन्माउने तयारीमा थिइन्। चिकित्सकले सुत्केरी हुने मिति आइतबारका लागि तोकेका थिए। त्यसैले शुक्रबार राति नै सबै तयारी गरियो। बिहान श्रीमान सरोज पहाडी सासु मैया कुमारी र रेनुका सँगै चितवनको भरतपुर अस्पतालतर्फ लागे।

तीन वर्षीय छोरीलाई घरमै हजुरबुबासँग छोडियो। सोचिएको थियो—केही दिनमै भाइ लिएर आमा फर्किनेछिन्। तर नियतिले यस्तो घात गऱ्यो, जो कुनै सपनामा पनि कल्पना गर्न सकिँदैन।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा पुग्दा, हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको माइक्रोबस र धनगढीबाट काँकडभिट्टा गइरहेको यात्रुबाहक बस एकआपसमा ठोक्किए।

त्यस माइक्रोबसमा थिए—रेनुका, सरोज र मैयाकुमारी। तीनै जनाको घटनास्थलमै मृत्यु भयो। रेनुकाको गर्भमा हुर्कँदै गरेको बालकको पनि त्यही ठाँउमा जीवन रोकिन पुग्यो।

एउटा निर्णय, चार वटा ज्यान

रेनुकाका मामा नवराज पहाडीले भान्जालाई आफ्नै सवारी साधन लिएर चितवन लैजान आग्रह गरेका थिए। तर सरोजले भने—२–४ दिन अस्पतालमै बस्नुपर्ने हुन सक्छ, गाडी फर्कन सक्दैन होला,’ भन्दै सार्वजनिक माइक्रोबस रोजे।

जीवनकै अन्तिम मोड

गाडी दुर्घटनामा परेपछि जब खबर आयो, नवराज पहाडी आफैं चितवन पुगे शव सनाखत गर्न। चिने—आफ्नो दिदी, भाञ्जा, भाञ्जी बुहारी। तर त्यो चिन्नुजस्तो असह्य पीडा विरलै आउँछ।

तीन पुस्ता गुमाएर बाँकी रहेका छन् रेवती पहाडी—श्रीमती, छोरा, बुहारी र जन्मनबाँक नाती गुमाएपछि उनी लगातार अचेत जस्तै छन्। जुन पीडा पहाडीले सहनुपरेको छ, त्यो कुनै शब्दले पनि बयान गर्न सकिँदैन। उनका सहकर्मी शिक्षकहरु भनिरहेका छन् ।

गाउँको सन्नाटा र टोलको आँसु

हेटौंडा–५, बानियाँटोल। अहिले त्यो टोलमा शान्ति छैन—सन्नाटा छ। टोल छिमेकमा समेत भित्रभित्रै बगिरहेको आँसु छ। एउटै घरमा तीन जनाको मृत्यु हुँदा छिमेकीका मनभित्र बज्रपात परेको छ।

कसैले कल्पना पनि गरेका थिएनन्—अस्पतालको यात्रा चिहान यात्रामा बदलिनेछ। हिजोमात्र हाँसिरहेका रेनुकाले आज कहिल्यै आँखा खोल्नेछैनन्। सरोज, जसको सपना थियो—दुई छोरी–छोराको बाबु हुने, अब सपनै सकिएको छ।

अन्य मृतक र घाइते

उक्त दुर्घटनामा हेटौँडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, माइक्रोबस चालक हेटौँडा–१० का ३१ वर्षीय राजु थिङ, रौतहटकी सीता चौधरी र एक अन्दाजी १९ वर्षकी अज्ञात युवतीको पनि मृत्यु भयो।

घाइतेहरूमा गम्भीर अवस्थामा हेटौँडा–८ की गंगा घलान उपचाररत छन्। अन्य मध्यम घाइतेमा हेटौँडाका विष्णु लम्साल, सिंहवीर घलान र सक्षम थापा छन्।

केवल दुर्घटना होइन, व्यवस्थाको असफलता

यो दुर्घटना एउटा गम्भीर प्रश्न हो—के हाम्रा सडक यात्रा सुरक्षित छन् ? सवारी साधनको अनुगमन, चालकको योग्यता, गतिको नियन्त्रण, यात्रुको संख्या, सवारीको नियमित मर्मत—यस्ता कुरामा अझै पनि लापरबाही हुँदा दिनहुँजसो ज्यान गइरहेका छन्।

यदि त्यो सवारी राम्रो अवस्थामा हुन्थ्यो, यदि त्यो सडक खण्डमा स्पिड कन्ट्रोल हुँदो हो त, आज रेनुका, सरोज, मैयाकुमारी र अजन्मिएको बालक हामीसँग हुन्थे।

सुत्केरीको बेड साटियो चिहानले

भरतपुर अस्पतालमा सुत्केरीको लागि आरक्षित गरिएको बेड अहिले खाली छ। त्यो बेडमा नयाँ जीवन जन्मिनुपर्थ्यो, पहिलो रुनु थियो, बाबुले काखमा च्याप्नु थियो। तर त्यो बेड पुग्नै नपाई, आमाले बाटोमै सास गुमाइन्। गर्भको बालक सँगै गुमियो।

एउटी छोरी जसको भाग्यमा अभिभावकको अनुहार छैन

तीन वर्षकी छोरी अहिले आफन्तको काखमा छिन्। आमाले दिएको पहिरनमा, बाबुले किनेको खेलौनामा रमाइरहेकी छिन् होला। तर उनलाई थाहा छैन—अब त्यो आमाको काख कहिल्यै नफर्कनेछ। बाबु भन्ने स्वर पनि अब तस्बिरमा मात्र हुनेछ।

यो घटना एउटा परिवारको त्रासदी मात्र होइन, सम्पूर्ण समाज र व्यवस्थाको लागि चेतावनी हो। जबसम्म हामीले सडक सुरक्षालाई गम्भीरतासाथ नलिन्छौं, जबसम्म सार्वजनिक यातायातको शुद्धता सुनिश्चित गर्दैनौं, यस्ता शवहरू फेरि–फेरि बाकसमा राखिनेछन्। तीन पुस्ताको चिहान अघि अब शब्द निरर्थक छन्। अब बाँकी छ—सम्झना, पीडा र त्यो सानो छोरीको भविष्य।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा भएको दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुलेको छ ।

शनिबार दिउँसो सो स्थानमा बस र इभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु छ । त्यस्तै, घाइतेको संख्या २४ जना पुगेको छ ।

पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो ।

घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन् । दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।

समाचार