राक्सिराङ गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, चालु खर्चमा उल्लेख्य वृद्धि

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

यो बजेट अघिल्लो वर्षको तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो। गाउँपालिकाको मंगलबार बसेको गाउँसभा बैठकमा उपाध्यक्ष वनस्तम थिङले बजेट पेस गरेका हुन्।

प्रस्तुत बजेटमा चालु तथा पूँजीगत खर्च, संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, र आन्तरिक आम्दानीका आधारमा स्रोत व्यवस्थापनको खाका सार्वजनिक गरिएको छ।

बजेट विवरण:

  • चालु खर्च: ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ

  • पूँजीगत खर्च: १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ

  • कुल बजेट: ६३ करोड ५२ लाख ३१ हजार रुपैयाँ

स्रोत व्यवस्थापन:

  • संघीय सरकारको अनुदान: ४३ करोड ८९ लाख ७८ हजार

  • प्रदेश सरकारको अनुदान: १० करोड ५८ लाख २२ हजार

  • आन्तरिक स्रोत: ९ करोड ४ लाख ३० हजार

बजेट विवरण अनुसार चालु खर्चमा वृद्धि गरिएको छ भने पूँजीगत खर्च अघिल्लो वर्षको तुलनामा घटाइएको छ। यस्तै, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानमा पनि वृद्धि भएको छ।

गाउँपालिकाले सामाजिक सेवा, प्रशासन, शिक्षा, स्वास्थ्य र अन्य नियमित सेवा सञ्चालनमा प्राथमिकता दिँदै चालु खर्च बढाएको संकेत दिएको छ । पूँजीगत विकास निर्माणसँग जोडिएका कार्यक्रमहरूको आकार भने तुलनात्मक रूपमा घटाइएको छ ।

राक्सिराङ गाउँपालिकाको आगामी वर्षको बजेटले सेवा प्रवाह र संस्थागत सुधारलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

राजनीति समाचार