धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

धरान ।  मदनभण्डारी राजमार्गअन्तर्गत धरान–चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन्।

यी पुलसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै शुरु हुन सकेको छैन। निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ।

उनका अनुसार धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ। त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए।

‘रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण शुरु हुन सकेको छैन। जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम शुरु गरिनेछ’, इञ्जिनियर श्रेष्ठले भने।

कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित २१ करोड ७८ लाख ६३ हजार ७५० रुपैयाँमा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण शुरु गरिएको थियो। तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए। छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम पूरा गर्ने उनले जानकारी दिए।

‘बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो। अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ’, उनले भने। यो सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो।

 

समाचार