घुम्थाङ पहिरो : मृतकको संख्या १३ पुग्यो, १८ जना अझै बेपत्ता

२९ भाद्र २०७७ – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

शनिबार राति गएको पहिराेमा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा सोमबार बिहान थप दुईजनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।

उनका अनुसार आज बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विकको शव फेला परेको थियो । अझै १८ जना बेपत्ता छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तीनवटा टोली बनाई नेवारटोल, लामाटोल र विकटोलमा उनीहरूको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

जिल्ला विपत् व्यवस्थापन समितिबाट पीडित परिवारका लागि त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको र खाद्यान्नका लागि बाह्रबिसे नगरपालिकाबाट व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

प्रदेश समाचार मुख्य समाचार (flash news)