मकवानपुरगढीमा चाइनिज भेरोसेल खोपको पहिलो मात्रा बुधबार ९४ जनाले लगाए

मकवानपुरगढी- मकवानपुरगढीमा चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्य बुधबारबाट शुरु भएको छ ।

बुधबार वडा नम्बर ५,६,७ र ८ मा खोप लगाउने कार्य सम्पन्न भएको छ । जसमा ४४ जना महिला र ५० जना पुरुष गरि कुल ९४ जनाले सो खोप लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनु भएको छ । यसैगरी बिहिवार वडा नम्बर १,२,३ र ४ मा सो खोप लगाइने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

अहिलेको खोप कार्यक्रम ६२ देखि ६४ वर्ष समुहका लागि मात्र खोप लगाउन स्वास्थ्य कार्यालय ,मकवानपुरको निर्देशन रहेको र निर्देशन विपरीत सो समूह बाहेक कसैलाई खोप लगाइ कुनै अवान्छित घटना (AEFI) घटेमा नियम विपरित खोप दिने स्वास्थ्यकर्मी नै जिम्मेवार हुने हुँदा स्वास्थ्यकर्मीहरुलाई नियमानुसार आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गरि खोप प्रदान गर्न लामिछानेले अनुरोध गर्नुभएको छ ।

उहाँका अनुसार स्वास्थ्य सेवा विभाग, टेकुको परिपत्रानुसार हालसम्म कोभिड-१९ विरुद्धको कुनै पनि खोप नलिएका ६२ देखि ६४ बर्ष समुहका लागि मात्र यो खोप दिइनेछ । साथै यस अगाडि अन्यत्र भेरोसेल(Vero Cell) खोपको पहिलो मात्रा लिएको र प्रमाणको रूपमा खोप कार्ड भएका ब्यक्तिहरुले पनि खोप लगाउन पाउनेछन् । कोभिड -१९ रोकथाम तथा नियन्त्रण कार्यमा प्रत्यक्ष रूपमा खटिएका स्वास्थ्यकर्मीहरु , मेडिकल साइन्स अध्ययनरत विद्यार्थीहरुले पनि खोप लगाउन पाउनेछन् ।

मुख्य समाचार स्वास्थ्य