कांग्रेस सभापतिमा पुनः दोहोरिने देउवाको संकेत

हेटौंडा। नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले पार्टी सभापतिमा पुनः दोहोरिने संकेत गर्नुभएको छ ।

शनिवार निजी निवास बुढानीलकण्ठमा प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकोले सभापतिमा आफू नै पुनः दोहोरिने संकेत गर्नुभएको हो । सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने बताउदै आफ्नो नेतृत्वमा संविधान कार्यान्वयन भएको समेत दाबी गर्नुभयो ।

महाधिवेशनको तालिका निश्चित भएपछि नेतृत्वका लागि चुनावी चहलपहल सुरु भएको छ । नेतृत्वका लागि आकांक्षाी नेताहरूले आफू निकटहरूसँग परामर्श गरेर चुनावी रणनीति बनाउन थालेका छन् । सभापतिमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला, शेखर कोइराला, कृष्ण सिटौलालगायतका नेताहरू आकांक्षीका रुपमा देखिएका छन् ।

कांग्रेसको नेतृत्व चयनको आधारशिला मानिने क्रियाशील सदस्यताको विवाद भने अझै टुंगिएको छैन। हरेक महाधिवेशको मुखमा यो विवाद बल्झिने गरेको छ । यसपटक पनि क्रियाशील सदस्यताको किचलोकै कारण महाधिवेशनको कार्यतालिका पटकपटक परिवर्तन भएको छ । पाँच लाखको हाराहारीमा रहेको कांग्रेसको क्रियाशील सदस्यता यसपटक दोब्बर बनाएर दस लाख पु¥याउने कांग्रेसको लक्ष्य छ ।०००

मुख्य समाचार राजनीति