मकवानपुरगढीको वडा नं ३ कोरोनाको हटस्पोट बन्दै,प्रत्येक दिन संक्रमित थपिँदै

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीको वडा नं ३ कोरोनाको हटस्पोट बन्दै गइरहेको छ । यस वडामा प्रत्येक दिन संक्रमित हुनेको संख्या थपिँदो अवस्थामा छ । यहाँ सोमबार पनि २ जना संक्रमित थपिएका छन् । थपिनेमा दुवैजना पुरुष रहेका छन् । थप भएका मध्ये एकजना पुरुषको गत १८ गते नै पोजेटिभ रिपोर्ट आएको थियो ।

संक्रमित हुने दुबैजनाको हेटौंडामा गरिएको PCR परिक्षणबाट संक्रमण पुष्ठि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो । यसैगरी आज वडा नं ८ मा पनि १ जना संक्रमित थपिएका छन् ।

आजको रेकर्डसँगै वडा नम्बर ३ मा मात्रै संक्रमित हुनेको संख्या ७९ पुगेको छ । कोरोनाको दोस्रो लहरबाट मकवानपुरगढीमा हालसम्म संक्रमित हुनेको संख्या २५१ रहेको छ भने २२८ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् । यसै क्रममा आजै पनि ३ जना संक्रमित १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।

आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट अहिलेसम्ममा सक्रिय संक्रमित २३ जना रहेका र ती मध्ये १८ जना होमआईसोलेशन, २ जना अस्पताल र ३ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन सेन्टरमा रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

हालसम्मको रेकर्ड अनुसार कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीका २५१ जना संक्रमण भएका मध्ये वडा नम्बर ३ मा सबैभन्दा धेरै संक्रमित भएका छन् । वडा नम्बर ३ मा ७९ जना संक्रमित भएका हुन् । अन्य वडाहरुका संक्रमित हुनेमा वडा नम्बर १ मा २१ जना, वडा नम्बर २ मा २९ जना, वडा नम्बर ४ मा २५ जना, वडा नम्बर ५ मा ५० जना, वडा नम्बर ६ मा १२ जना, वडा नम्बर ७ मा २२ जना र बडा नम्बर ८ मा १३ जना संक्रमित भएका छन् ।

यसैगरी अहिलेसम्ममा कोरोना कै कारण मकवानपुरगढीका ५ जनाको ज्यान गएको छ । वडा नम्बर ५ का १जना महिला र १ जना पुरुष गरि २ जनाको ज्यान गएको छ । यसैगरी वडा नम्बर ८ का १ जना पुरुष , वडा नम्बर ३ कि १ जना महिला र वडा नम्बर २ का १ जना पुरुषको कोरोना कै कारण ज्यान गएको छ । उनीहरु मध्ये हेटौंडा अस्पतालमा ३ जना र भरतपुरको CMC अस्पतालमा २ जनाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख लामिछानेले बताउनु भएको छ ।

मुख्य समाचार स्वास्थ्य