के दर्ता नभएका मोबाइल नचल्ने नै हुन्?

काठमाडौं । अहिले दर्ता नभएका मोबाइल बन्द हुने भन्दै नेपालमा हल्ला फैलिएको छ। तर, वास्तविकतमा हाल चलिरहेको मोबाइल सेट बन्द हुँदैनन्। जब एमडिएमएस लागु हुन्छ त्यसपछि मात्रै दर्ता नभएका मोबाइल नचल्ने तर, दर्ताको दायरामा आएपछि चल्छन्।

विदेशमा रहेका नेपालीले आफन्तलाई मोबाइल पठाउने अथवा आफै ल्याइदिने गरेका छन्।

नेपालको तुलनामा विदेशमा मोबाइल तथा ल्यापटप सस्तो पाइने भएकाेले आफ्ना परिवारलाई विदेशबाटै उपहार ल्याइदिने गरेका छ।

यस्ता मोबाइल चल्न पाउँछन अथवा पाउँदैनन भन्ने विषयमा सबैभन्दा चासो रहदै आएको छ।
खासगरी नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागु हुनुभन्दा अगाडि विदेशबाट उपहार तथा पठाइदिएका मोबाइललाई दर्ता प्रक्रियामा ल्याउने छ।

तर, पहिले नै नेपाल आइसकेका फोनहरुलाई बन्द नगराउने बताएको छ। दुरसञ्चार प्राधिकरणका सह प्रवक्ता अच्युतान्द मिश्रले एमडीएमएस लागु हुनुभन्दा अगाडि नेपालमा विदेशी दाजुभाइले पठाएका मोबाइल बन्द नहुने तर, दर्ता चाहि हुनै पर्ने बताएका छन्।

‘अहिलेसम्म चलेका मोबाइललाई प्राधिकरणले रोक्दैनन्,’ उनले भने, ‘एमडीएमएस लागू हुनभन्दा अगाडि जुनसुकै च्यानलबाट नेपालमा भित्रिएका मोबाइललाई बन्द गर्ने योजना छैन तर, दर्ता प्रक्रियाको लागी समयावधि तोकिने छ।’

उनका अनुसार भन्सार विभागको गाइडलाइन अनुसार नै दर्ता प्रक्रियामा लान प्राधिकरणले सहयोग गर्छ।

विदेशबाट आएका मोबाइललाई प्राधिकरणले निश्चित समय दिएर ह्वाइट लिस्टमा ल्याउने तर, बन्दै नगर्ने मिश्रको भनाई छ।

तर, एमडीएमएस लागु भएपछि सीमानाकाबाट अवैध रुपमा भित्रने मोबाइल भने पूर्णरुपमा रोकिने छ।

यो सिस्टम लागु भएपनि सेवाग्राही आतिहाल्नुपर्ने अवस्था नरहेको र अझ सेवाग्राही मैत्री एमडीएमएस सिस्टम हुने प्राधिकरणले जनाएको छ।

विशेषगरी एमडीएमएसले अवैध मोबाइललाई नियन्त्रण गर्ने, हराएको मोबाइलको पहिचान गर्ने र आइएमईआइ मोबाइल दर्ता प्रक्रियालाई अगाडी बढाउने काम गर्छ।नेपाल दूरसञ्चार प्राधिकरणले उक्त इआरआई प्रणाली सञ्चालनमा आउन केहि समय लाग्ने जनाएको छ । 

मुख्य समाचार