गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले भने- सबैको सुझाव र सल्लाहमा चल्छु

काठमाडौं । सत्तारुढ गठबन्धनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती नदोहो¥याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको छ ।

विहीवार प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्नु भएको हो । छलफलमा काँग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता कृष्णबहादुर महरा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनु भएको थियो । यस्तै एमालेको खनाल–नेपाल पक्षबाट बैठकमा नेता विजयकुमार पौडेलको सहभागीता रहेको थियो ।

नेताहरुले प्रधानमन्त्री देउवालाई निवर्तमान प्रधानमन्त्री ओलीले गरेको गल्ती नदोहोर्याउन सुझाव दिएको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । जवाफमा देउवाले आफू गठबन्धनको भावनालाई आत्मासात गर्दै सबैको सुझाव र सल्लाहमा चल्ने बताउनु भएको अध्यक्ष यादवले बताउनुभयो । छलफलमा प्रधानमन्त्री देउवाले शुक्रवारबाट थप मन्त्रिपरिषद विस्तारबारे तयारी थाल्ने जानकारी गराउनु भएको थियो ।

विहीवारको बैठकमा भने मन्त्रालयको भागबण्डा लगाउने कुरामा कुनै छलफल नभएको अध्यक्ष यादवले बताउनुभयो ।

मुख्य समाचार राजनीति