भ्रष्टचार र अहमताले कम्युनिष्ट र कांग्रेस चिन्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टचार र अहमताले कम्युनिष्ट र कांग्रेस नचिन्ने बताउनु भएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजीत एक कार्यक्रममा बोल्दै नेता नेपालले भ्रष्टाचार, घमण्ड र अहमताले मानिसको व्यवहार र सिद्धान्त नै परिवर्तन हुने बताउनुभएको हो । उहाँले कुनै पार्टी, सिद्धान्तको भेष पहिरिँदैमा मानिस महान नहुने बताउनुभएको हो । नेता नेपालले भ्रष्टिकरण निम्त्याउने काम सत्ताले मात्र नगरेर बन्दुकले पनि गर्ने बताउनुभयो ।

नेता नेपालले समाज बदल्न मानिसले पहिले आफ्नो सोच, विचार र धारण बदल्नु पर्ने बताउनुभयो । आफू नबदलिएसम्म मानिसले अरुलाई बदल्न नसक्ने उहाँको भनाइ छ ।

नेता नेपालले पार्टीको सिद्धान्तविपरित गएर ओली आफ्नो हिसाबले अघि बढेपछि पार्टी भित्र संकट नै संकट देखिन थालेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ओली आफ्नो हिसाबले पार्टीको सिद्धान्त विपरित अघि बढ्न थाल्नुभयो । त्यहिँबाट पार्टीभित्र संकट देखिन थाल्यो । मानिसको जीवनमा जस्तै पार्टीको जीवनमा चुनौती आउँछ । हाम्रो पार्टीमा पनि चुनौती, संकट आयो तर यसमा आत्तिनुपर्ने अवस्था छैन । समस्यासँग भाग्नु हुँदैन सामनातिर लाग्नुपर्छ ।’

नेता नेपालले जनतामा अझै पनि कम्युनिष्ट पार्टीप्रति विश्वास, आशा रहेको भन्दै यसलाई कसरी जोगाउने सबैले सोच्नुपर्ने बताउनुभयो । उहाँले जनाताबिनाको राजनीति सम्भव नहुने भन्दै जनताको भावना, माग र मनको कुरा बुझ्न उनीहरुको नारी छाम्न सक्नुपर्ने र सोही अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

मुख्य समाचार राजनीति