ओली सरकारले गरेको नियुक्ति खारेज गरे देशभर आगो बाल्छौः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।

शनिबार युथ फोर्सके भ्याली कमाण्ड गठन गर्दै नेता बस्नेतले केपी शर्मा ओली सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने र एमालेलाई विभाजन गर्ने गरी अध्यादेश ल्याए देशमा आगो बाल्ने चेतावनी दिएका हुन् ।

उनले एमाले सरकारले गरेका राजनीतिक नियुक्तिहरु षड्यन्त्रपूर्वक खारेज गर्ने अहिलेको सरकारले गरेको आरोप पनि लगाएका छन् । उनले भने, ‘षड्यन्त्रपूर्वक यसअघि सरकारले गरेका निर्णयहरु खारेज गर्ने काम भइरहेको छ । यति मात्र होइन यो सरकारले हाम्रो पार्टी एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र गरिरहेको छ ।’

उनले पहिलो एमाले बलियो बनाउन सरकारले ल्याएको अध्यादेश फेल गराइएको र अहिले एमाले फुटाउनेगरी अध्यादेश ल्याइए देशभर आगो बाल्ने चेतावनी दिए ।

नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गरे ।

उनले अहिलेको सरकार जनादेशबाट नभई सर्वोच्चको परमादेशबाट आएको पनि बताए । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने भनिए पनि एकताका लागि क्रियाशील नेताहरुको आग्रहपछि ओली सहभागी भएनन् ।

मुख्य समाचार स्वास्थ्य