राजनीतिक दललाई प्रधानमन्त्रीको आग्रह, ‘भीडभाड हुने कुनै गतिविधि नगर्नु’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नु भएको छ ।

आजदेखि शुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नु भएको हो । 

उहाँले व्यापार र व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले नेपालमा पनि कोभिड–१९ महामारीको तेस्रो लहर शुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

 उहाँले अहिले खोप अभियान पनि जारी रहेकाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न समेत आग्रह गर्नुभयो । सरकारको एक्लो प्रयासले कोभिड नियन्त्रण गर्न नसकिने भन्दै प्रधानन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले आजदेखि साउन २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सुरु गरेको छ ।

मुख्य समाचार राजनीति