मकवानपुरगढीको ८ वटै स्वास्थ्यकेन्द्रबाट श्रावण २६ गते भेरोसेलको दोश्रो खोप

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा गत असार ३१ गते देखि श्रावण ४ गतेसम्म भेरोसेलको पहिलो खोप लगाएकाहरुलाई यहि श्रावण २६ गते दोश्रो खोप लगाउन लागिएको छ ।

मकवानपुरगढीका ८ वटै वडाका खोप केन्द्रहरुबाट खोप लगाउन लागिएको गाउँपालिकाले आज एक सूचना जारी गर्दै पालिकाबासी सबैमा जानकारी गराएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने पालिकाले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम संचालन हुनेछ।

दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड लिएर आउनु पर्ने मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य प्रमुख धुव्र लामिछानेले बताउनुभयो । ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरु, वैदेशिक रोजगारीमा जानेहरु र चालकहरुलाई भेरोसेलको पहिलो डोज लगाइएको थियो । गाउँपालिकामा १ हजार ३ सय जनाले भेरोसेलको पहिलो खोप लगाएका स्वास्थ्य प्रमुख लामिछानेले बताउनुभयो ।


स्थानीय स्वास्थ्य