महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समूहको प्रतिबद्धता

काठमाण्डौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले १४ औं महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेका छन ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै पौडेल समूहबाट सभापतिका आकांक्षीहरुले आसन्न महाधिवेशनमा एकताबद्ध भएर प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएका हुन । पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले पार्टी सभापतिमा एक जनाले मात्रै उम्मेदवारी दिने बताउनुभयो । उहाँले १३ औं महाधिवेशनदेखि आफ्नो पक्षमा रहेका नेताहरू संगठितनै रहने र त्यसमा  कुनै आँच आउन नदिने समेत बताउनुभयो । विचार मिल्नेहरू एक भएर कांग्रेसलाई थप लोकतान्त्रिक र पारदर्शी बनाउँदै भरोसाको केन्द्र बनाउने उहाँको दाबी थियो । अझै क्रियाशील सदस्यतामा विवाद समाधान हुन नसकेको भन्दै उहाँले निष्ठावान कार्यकर्ताहरू क्रियाशील सदस्य हुनबाटै बञ्चित हुने अवस्था सिर्जना भइरहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू सुजाता कोइराला, शेखर कोइराला, गगन थापा लगायत नेताहरुको उपस्थिती रहेको थियो ।०००० 

मुख्य समाचार राजनीति