कांग्रेसको १४ औं महाधिवेशनका लागि आजबाट वडा अधिवेशन शुरु

१८ भदौ, काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि आजदेखि वडा अधिवेशन सुरु भएको छ ।

आज करिब ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज ४५ जिल्लामा मात्र वडा अधिवेशन हुन लागेको हो ।

अहिलेसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिएको छ । अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न नसकेको कारण सबै जिल्लामा वडा अधिवेशन शुक्रबारै सुरु हुनेछैन । २७ भदौमा गाउँ-नगर अधिवेशन हुने हुँदा बाँकी रहेका जिल्लाका वडाहरुमा २६ भदौ अघि अधिवेशन सम्पन्न गरिसक्ने जनाइएको छ ।

वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुन् । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ ।

विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।

मुख्य समाचार राजनीति