नेपाल टेलिकमले एक वर्षमै थप्यो झण्डै ४० लाख फोरजीका नयाँ ग्राहक

काठमाडौँ / नेपालमा पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ । गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन् ।

नेपाल टेलिकमले फोरजी सेवामा पछिल्लो एक वर्षमै ३९ लाखभन्दा बढी नयाँ ग्राहक थप गरेको छ । कम्पनीको देशव्यापी रुपमा फोरजी नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुनै लाग्दा ग्राहक सङ्ख्यामा व्यापक बढेको देखिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस (म्यानेज्ड इन्फरमेसन सिस्टम) प्रतिवेदन अनुसार गत वर्षको असार मसान्तसम्म कम्पनीको फोरजी सेवामा आठ लाख ४३ हजार ९६९ ग्राहक रहेका थिए ।

त्यसयताको एक वर्षमा कम्पनीले आफ्नो कूल फोरजी प्रयोगकर्ताको संख्या ४७ लाख ४४ हजार ३७५ पुर्‍याएको हो । टेलिकमको फोरजी सेवामा यति धेरै नयाँ ग्राहक थपिएको यो नै पहिलो पटक हो ।

मुख्य समाचार समाचार समाज