असोज दोस्रो साताबाट लामोदूरीको यातायातमा अग्रिम टिकट बुकिङ खुल्ने

काठमाण्डौ । सरकारले असोज दोस्रो साताबाट लामोदूरीको यातायातमा अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।
यातायात व्यवसायी र यातायात व्यवस्था विभागले असोज दोस्रो साताबाट अग्रिम टिकट बिक्री खुलाउने सहमति गरेका हुन् । यो वर्षको दशैँ आउन अब करिब १ महिना बाँकी छ । असोज २१ गते घटस्थापना रहेको छ भने २९ गते विजयादशमी छ ।

यातायात व्यवसायीले घटस्थापनादेखि नै सहर छाडी गाउँ जानेको संख्या बढ्ने बताएका छन्। व्यवसायीले सरकारसँग समन्वय गरी यात्रुको व्यवस्थापनको लागि अग्रिम टिकट बुकिङ गर्दै आएका छन् । ‘व्यवसायीसँग छलफल भइसकेको छ। व्यवसायीलाई अग्रिम बुकिङको लागि तयारी गर्न भनेका छौँ’, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘असोज ५÷६ गते निर्णय गर्छौँ।’ महानिर्देशक घिमिरेले असोज दोस्रो हप्तादेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने व्यवसायीसँग सहमति भए पनि मिति तय नभइसकेको बताए । महानिर्देशक घिमिरेले साउनमा बढेकै भाडा दरअनुसार अग्रिम टिकट बुकिङ हुने बताएका छन् । ‘हामीले साउन १ बाटै लागू हुने गरी लामोदूरीको भाडा समायोजन गरिसकेका छौँ’, घिमिरेले भने, ‘दशैँ तिहारमा भाडा बढ्दैन, त्यही लागू हुन्छ।’ यातायात व्यवसायीले इन्धनको मूल्य बढेको, महंगी बढेको कारण छोटो तथा मध्यम दूरीको यातायातमा समेत भाडा बढाउनुपर्ने भन्दै आन्दोलन गर्दै आएका छन्।

मुख्य समाचार