रामेछापमा अपराधिक घटना बढ्दै, भरुवा बन्दुक देखाएर चोरी गर्ने ४ जना पक्राउ

रामेछाप । रामेछापमा पछिल्लो समय अपराधिक घटना बढेको छ । शुक्रबार जिल्लाको विभिन्न ठाउँमा संगठित रुपमा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लिखु तामाकोसी गाउँपालिका–६ जामुने स्थित चन्द्र बहादुर बुढाथोकीको घरमा भरुवा बन्दुक र छुरी देखाएर धनमाल लुटपाट गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

डाँकाको समुहले घरमा रहेका तीन आमा छोरीलाई एउटा कोठामा थुनेर सुन र नगद लुटपाट गरेका थिए । उनीहरु चारै जनालाई बिहिबार पक्राउ गरको प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा गोकुलगंगा गाउँपालिका ६ फर्पुका वर्ष ३३ का मिलन तामाङ, वर्ष २६ का राहुल भनिने लाल बहादुर तामाङ, वर्ष ३४ का जंगे भनिने आकाश तामाङ र वर्ष १८ का आशिष भनिने भुमिराज तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाका अनुसार उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनी चारै जनाले आफूहरुले चोरी गरेको स्वीकार गरिसकेको उनको भनाई छ ।

उनीहरुको साथबाट भरुवा बन्दुक १ थान, पुरानो मोरु नोट ८ थान, अन्य नोट ३५ थान, सुनको फुली २ थान र ४ थान मोबाइल बरामत गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि जिल्लामा लागुऔषधको काराबारीलाई पनि प्रहरीले प्रक्राउ गरेको थियो ।

  • जाहेरी अनुसार डाँका चोरी गरेका सामानहरु ;–
  • जाहेरवालाले लगाएको अं. १ तोला सुनको बेरुवा रिङ – २ थान,
  • अं. ६ आना सुनको नाकमा लगाउने फुली – १ थान,
  • अं. १२ आना सुन भएको पोते सहितको घोप्टे- १ थान,
  • दुई छोरीहरुले नाकमा लगाएको अं. ४/४ आना सुनको फुली – २ थान,
  • घर कोठामा टिनको बाक्सामा राखेको ६ आना सुनको ढुंग्री – २ थान,
  • ६ आना सुनको कुण्डल – २ थान,
  • १ तोल सुनको नौगेडी सहितको पोते- १ थान,
  • ६ आना सुनको तिलहरी समेतको पोते – १ थान,
  • ६ आना सुनको औंठी – १ थान,
  • ४ तोला चाँदीको पाउजु – २ थान,
  • सोही बाक्सामा राखेको अं. ३ माना जती चाँदीका पुराना सिक्काहरु,
  • नेपाली नगद रु.२५/३०,०००।- (अक्षरुपी पच्चिस / तीस हजार रुपैयाँ),
  • आधा तोला सुनको तिलहरी – १ थान,
  • ८ आना सुनको माडवारी – २ थान,
  • ६ तोला चाँदीको कल्ली – २ थान,
  • केही पुरानाँ चाँदिका सिक्काहरु,
  • शंख – १ थान ।
मुख्य समाचार समाचार स्थानीय