नैतिकता र इमानदारिताले गर्दा विभाजनको पक्षमा लागिनँ: मुख्यमन्त्री शाक्य

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नैतिकता र इमानदारिताका कारण विभाजनको पक्षमा नउभिएको बताएकी छन्।

विश्वासको मत लिने प्रस्तावलाई प्रदेशसभामा प्रष्ट्याउँदै शाक्यले आफू नैतिकतामा रहेकाले विभाजनको पक्षमा नगएको उल्लेख गरेकी हुन्।

उनले आफूलाई एमाले संसदीय दलबाट सर्वसम्मत रुपमा दलको नेता र मुख्यमन्त्री बनाउन भूमिका खेल्ने सांसदहरु नै विभाजनको पक्षमा उभिएको उल्लेख गरिन्।

बैठकमा शाक्यले भनिन्, ‘मलाई सर्वसहमत बनाउन भूमिका खेल्ने सांसदहरु ज्यूहरु नै विभाजनमा लाग्नुभयो। मलाई विभिन्न आश्वासन नदिइएको होइन। तर मेरो नैतिकता र इमानदारिताले विभाजनको पक्षमा जान दिएन।’

उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्दै अध्यादेशमार्फत एमाले विभाजन गर्ने कार्य निन्दनीय भएको उल्लेख गरिन्।

‘अध्यादेशबाट पार्टी विभाजन गर्ने काम निन्दनीय छ। विभाजन भएपछि संविधानको भावनाअनुसार विश्वासको मतका लागि प्रस्ताव असोज २४ गते पेश गरेको थिएँ,’ शाक्यले भनिन्।

सत्तारुढ दल विभाजन भएपछि संविधानको धारा १८८ (२) अनुसार ३० दिनभित्र विश्वासको मत लिनु पर्ने प्रावधानअनुसार उनले विश्वासको मत लिन लागेकी हुन्। प्रदेशसभामा विपक्षी गठबन्धनले शाक्यको विकल्पमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने भएको छ।

प्रदेश समाचार मुख्य समाचार राजनीति स्थानीय